काठमाडौँ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद समाधान गर्ने अन्तिम प्रयासका रूपमा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष छलफलमा जुटेका छन् ।
उनीहरू सभापति देउवाको निवास महाराजगन्ज पुगेर निर्णायक वार्ता थालेका हुन् ।
वार्ता समितिका सदस्य प्रदीप पौडेलका अनुसार यसअघि टेलिफोन तथा अन्य नेताहरूको माध्यमबाट भएको संवादलाई निष्कर्षमा पुर्याउने उद्देश्यसहित महामन्त्रीद्वय देउवासँग भेटवार्ता गर्न पुगेका हुन् ।
यो छलफललाई कांग्रेसभित्रको विवाद टुंग्याउने अन्तिम अवसरका रूपमा हेरिएको छ ।
नेताहरूका अनुसार आजको भेटवार्तामा पनि सहमति जुट्न नसके पार्टीभित्रका दुवै धार आ–आफ्नो राजनीतिक बाटो तय गर्न बाध्य हुने अवस्था आउन सक्छ ।
विवादको केन्द्रमा सभापति देउवाको सक्रिय राजनीतिबाट अलग हुने विषय र फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्ने प्रस्ताव रहेको छ ।
यी विषयमा दुवै पक्षबीच अझै सहमति बन्न सकेको छैन ।
यिनै विषयलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे शीर्ष तहमा अन्तिम छलफल चलिरहेको भए पनि दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेकाले सहमतिको सम्भावना कमजोर रहेको कांग्रेस नेताहरूको भनाइ छ ।