ट्रेन्डिङ

फल्स बटम बनाएर गाँजा ओसारपसार, बारामा २०३ केजीसहित चालक पक्राउ

बारा ।बाराको जितपुर सिमरा उपमहानगरपालिकामा प्रहरीले लागुऔषध गाँजा ठूलो परिणाममा नियन्त्रणमा लिएको छ ।

मनहरीबाट कलैयातर्फ गइरहेको पिकअप भ्यान जाँच गर्दा लुकाइछिपाइ ल्याइएको २०३ केजीभन्दा बढी गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१८ बडर्वा क्षेत्र अन्तर्गत पिलुवा–कलैया भित्री सडक खण्डमा शङ्कास्पद गतिविधि देखिएपछि बीए सी २३४३ नम्बरको नेपाली योद्धा पिकअप भ्यान रोकी जाँच गरिएको थियो ।

जाँचका क्रममा गाडीको पछिल्लो भागमा विशेष रूपमा फल्स बटम बनाई २० पोका गाँजा लुकाइराखिएको फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजाको तौल २०३ केजी ८५० ग्राम रहेको छ ।

प्रहरीले पिकअप चालक मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ का २४ वर्षीय निशान बहादुर सुनचुरीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि मंगलबार दिउँसो करिब १२ः२५ बजे इलाका प्रहरी कार्यालय सिमरा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार प्रयोग गरिएको पिकअप गाडी हाल प्रहरी चौकी जैतापुरको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै