काठमाडौँ । देशको मौसममा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको छ, जहाँ आंशिक बदली देखिएको छ ।
महाशाखाले जनाएको अनुसार अन्य पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
तर, तराईका केही स्थानमा भने बिहानैदेखि हुस्सु देखिएको छ, जसले दृश्यता कम गराएको छ ।
आज दिउँसो तराईका सीमित क्षेत्रमा हुस्सु र कुहिरो कायम रहने अनुमान गरिएको छ ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने महाशाखाको भनाइ छ ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि अन्य क्षेत्रमा मौसम खुला रहनेछ ।
महाशाखाले विशेषगरी तराईमा बिहानपख देखिने हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटनसँगै हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।