ट्रेन्डिङ

किन बढ्दैछ बारामा निर्वाचन प्रहरीको भीड ?

बारा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बारा जिल्लामा म्यादी प्रहरी बन्ने चाहना राख्नेहरूको भीड बढेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षाका लागि आवश्यक ‘निर्वाचन प्रहरी’का लागि सोमबारसम्म झण्डै चार हजार जनाले आवेदन दिएका छन् ।

नेपाल प्रहरीले गत शुक्रबारदेखि निर्वाचन प्रहरीका लागि आवेदन खुला गरेसँगै जिल्ला प्रहरी कार्यालय बारामा दैनिक आवेदकको घुइँचो लाग्न थालेको हो ।

नियमित सुरक्षाकर्मीको संख्या अपुग भएपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत ४० दिनको अवधिका लागि म्यादी प्रहरी परिचालन गर्ने व्यवस्था गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबारसम्म ३ हजार ८४७ जनाले आवेदन दर्ता गराइसकेका छन् ।

निर्वाचन सुरक्षाका लागि बारामा ४ हजार ३४ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ ।

फारम भर्ने क्रममा युवायुवतीदेखि ५० वर्ष नाघेका महिलासम्मको सहभागिता देखिएको छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका महिला तथा पुरुषले निर्वाचन प्रहरीमा आवेदन दिन पाउने प्रावधान छ ।

आवेदन दर्ता गर्ने समयसीमा माघ १ गतेसम्म कायम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आवश्यक संख्यामा निर्वाचन प्रहरी छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ ।

उनले भने, “आवेदन जिल्ला प्रहरी कार्यालयमै लिइँदैछ । निर्वाचन अवधिभर ४० दिन सेवा गर्नुपर्ने हुन्छ र सेवा–सुविधा प्रहरी जवानसरह उपलब्ध गराइनेछ ।”

निर्वाचन सुरक्षासँगै अस्थायी रोजगारीको अवसर भएकाले म्यादी प्रहरीप्रति आमनागरिकको आकर्षण बढ्दो देखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै