जनकपुर। मधेस प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३० हजार ४६६ जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ।
प्रदेशका आठै जिल्लामा आजदेखि दरखास्त आवेदन खुला गरिएको हो।
मधेस प्रदेशमा रहेका ३२ वटा निर्वाचन क्षेत्रका मतदानस्थलको सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा निर्वाचन प्रहरी परिचालन गर्न लागिएको मधेस प्रहरीले जानकारी दिएको छ ।
निर्वाचन प्रहरी भर्नाका लागि आजदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका गणमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
जिल्लागत रूपमा हेर्दा धनुषामा सबैभन्दा धेरै ४ हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। त्यसैगरी सप्तरीमा ४ हजार २२२, बारामा ४ हजार ३४, महोत्तरीमा ३ हजार ९१२, सर्लाहीमा ३ हजार ९२६, रौतहटमा ३ हजार ८५१, सिरहामा ३ हजार ७५७ र पर्सामा २ हजार ८५२ जना निर्वाचन प्रहरी खटाइने तयारी छ।
मधेस प्रदेशका सबै जिल्लाहरू भारतसँग सिमाना जोडिएकाले अधिकांश मतदानस्थलहरू अति संवेदनशील वर्गमा पर्ने गरेका छन्।
यसकारण निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई मजबुत बनाउने उद्देश्यसहित निर्वाचन प्रहरी भर्ना गरिएको प्रहरी भनाइ छ।