जनकपुर । नेपाली कांग्रेसको विशेष महाधिवेशन नजिकिँदै जाँदा मधेस प्रदेशको राजनीतिक तापक्रम ह्वात्तै बढेको छ।
कठ्यांग्रिने चिसोबीच कांग्रेसभित्रको शक्ति संघर्षले भने मधेसको राजनीति तताएको छ। विशेष महाधिवेशनलाई लिएर संस्थापन र असन्तुष्ट समूहबीच प्रतिनिधि तानातान चर्किँदा प्रदेशभर हलचल मच्चिएको छ।
देउवा–शेखर कोइराला समूहले आफ्ना पक्षधर कार्यकर्तालाई महाधिवेशनमा सहभागी नहुन खुलेआम दबाब दिन थालेका छन् भने गगन थापा–विश्वप्रकाश शर्माको समूहले मधेसबाट बढीभन्दा बढी प्रतिनिधि काठमाडौं पुर्याउने रणनीति अघि सारेको छ।
दुवै पक्ष ८ वटै जिल्लामा आफ्नो पकड बलियो बनाउन अन्तिम प्रयासमा जुटेका छन्।
विशेष महाधिवेशनमा अब दुई दिन मात्रै बाँकी रहँदा संस्थापन पक्षले मधेसबाट २० देखि ३० प्रतिशत मात्र प्रतिनिधि सहभागी गराउने रणनीति बनाएको कांग्रेस स्रोत बताउँछ।
यसको विपरित गगन–विश्वप्रकाश समूहले ५५ प्रतिशत प्रतिनिधि सहभागी गराउने दाबी गरिरहेको छ।
यसअघि मधेसबाट ठूलो संख्यामा प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरे पनि पछिल्ला दिनमा संख्या ह्वात्तै घटेको छ।
कांग्रेस संस्थापन पक्षका प्रभावशाली नेतृ आरजु देउवा, भानु देउवा तथा शेखर कोइराला समूहका शीर्ष नेताले प्रत्यक्ष फोन गरेर महाधिवेशनमा नजान दबाब दिएको स्रोतको दाबी छ।
महाधिवेशनपछि पनि नेतृत्व आफैं रहने भन्दै अहिले असहयोग गर्नेहरूलाई आगामी निर्वाचनमा टिकट नदिने चेतावनीसमेत दिइएको बताइन्छ ।
प्रतिनिधि रोक्न केन्द्रीय नेताहरू मधेसमा
फोनको दबाब मात्र नभई संस्थापन पक्षले केन्द्रीय नेताहरू नै मधेसमा खटाएको छ।
विमलेन्द्र निधि, आनन्द ढुङ्गानालगायतका केन्द्रीय सदस्यहरू जनकपुरसहित विभिन्न जिल्लामा पुगेका छन्।
उनीहरूले बिहीबारदेखि जिल्लास्तरमै प्रतिनिधिसँग भेटघाट गर्दै कुनै पनि हालतमा आइतबार हुने विशेष महाधिवेशनमा नजान दबाब दिइरहेका छन्।
जनकपुरका कांग्रेस नेता जीवनाथ चौधरीका अनुसार मधेसबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्य अहिले आ–आफ्नो जिल्लामा सक्रिय छन्।
“जिल्लामा आएर मात्र होइन, केन्द्रबाट पनि शीर्ष नेताहरूले फोन गरेर सहभागी नहुन दबाब दिइरहेका छन्,” उनले भने।
जिल्लागत अवस्था : कहाँ कति प्रभाव ?
संस्थापन पक्षको सक्रियता बढेपछि गगन पक्षमा खुलेका प्रतिनिधिको संख्या धेरै जिल्लामा घटेको देखिन्छ।
• पर्सा : गगन पक्षमा १०–१५ प्रतिशत मात्र प्रतिनिधि। पूर्व सांसद सुरेन्द्र चौधरी खुलेका छन्।
• बारा : पूर्वमन्त्री फर्मुल्लाह मन्सुर, चन्द्रशेखर यादवलगायत खुलेका छन्। करिब ४० प्रतिशत सहभागिता अनुमान।
• रौतहट : मुख्यमन्त्री कृष्णा यादवसहित शीर्ष नेताको दबाबले गगनको प्रभाव कमजोर। करिब ३० प्रतिशत मात्र समर्थन।
• सर्लाही : गगन पक्ष बलियो। सुरेन्द्र सिंह र बिरेन्द्र सिंहको सक्रियताले करिब ५० प्रतिशत प्रतिनिधि जाने अनुमान।
• महोत्तरी : गगनको बलियो पकड। महेन्द्र राय, प्रह्लाद क्षेत्री, सुशील यादव सक्रिय। ५० प्रतिशतभन्दा बढी समर्थन।
• धनुषा : संस्थापन पक्ष हाबी। गगन पक्षमा करिब २० प्रतिशत मात्र।
• सिरहा : सीता यादवको लबिङ, ४० प्रतिशत प्रतिनिधि जाने अनुमान।
• सप्तरी : सभापति रामदेव साहसहितका नेताहरू गगन पक्षमा, करिब ४० प्रतिशत सहभागिता।
कुन जिल्लामा गगन बलिया ?
मधेसका ८ जिल्लामध्ये सर्लाही र महोत्तरीमा गगन थापाको पकड सबैभन्दा बलियो देखिएको छ।
बारा तेस्रो बलियो जिल्लाका रूपमा उभिएको छ। नेतृत्वप्रति असन्तुष्टि र परिवर्तनको चाहनाले यी जिल्लामा गगन पक्षको माहोल बनेको कांग्रेस वृत्तको विश्लेषण छ।
दुवै पक्षका फरक–फरक दाबी
मधेस प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस प्रदेश अध्यक्ष कृष्णा यादवले विशेष महाधिवेशनमा २० प्रतिशतभन्दा बढी प्रतिनिधि नजाने दाबी गरेका छन्।
“पहिले हस्ताक्षर भए पनि अहिले त्यो अवस्था छैन,” उनको भनाइ छ।
तर गगन पक्षका मधेस प्रदेश उपसभापति बिरेन्द्र सिंह भने प्रदेशभर ५५ प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेको दाबी गर्छन्।
“सबै जिल्लामा गगनको समर्थन बढ्दो छ,” उनले भने।
विशेष महाधिवेशन नजिकिँदै जाँदा मधेस कांग्रेसभित्रको शक्ति संघर्ष अझ चर्किने संकेत देखिएको छ।
अब आइतबारको विशेष महाधिवेशनले मधेसको वास्तविक शक्ति सन्तुलन कता ढल्किन्छ भन्ने स्पष्ट पार्नेछ।