वीरगन्ज । वीरगन्जमा उत्पन्न धार्मिक विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले पहल तीव्र बनाएको छ ।
विवादलाई शान्तिपूर्ण रूपमा सुल्झाउने उद्देश्यले हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग प्रशासनले छलफल सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा दुबै समुदायका प्रतिनिधि तथा अगुवाहरूसँग छलफल भइरहेको छ ।
यसअघि प्रशासनले सर्वदलीय बैठक समेत डाकेर समग्र परिस्थितिबारे सुझाव र धारणा संकलन गरेको थियो ।
साम्प्रदायिक सद्भाव कायम राख्न तथा कुनै पनि किसिमको तनाव फैलिन नदिन प्रमुख जिल्ला अधिकारी भोला दाहाल आज बिहानदेखि निरन्तर छलफलमा जुटिरहेका छन् ।
प्रशासनले आपसी समझदारी र संवादमार्फत विवाद समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ ।
प्रशासनका अनुसार शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएकाले संयमता अपनाउन दुबै समुदायलाई आग्रह गरिएको छ ।
छलफल सकारात्मक दिशामा अघि बढिरहेको जनाइएको छ ।