सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–३ स्थित पर्सा पोखरी नजिकको हुलाकी सडकमा सोमबार भएको मोटरसाइकल दुर्घटनाले लागुऔषध ओसारपसारको घटनालाई समेत बाहिर ल्याएको छ।
दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनापछि घटनास्थलबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको हो।
दुर्घटनामा बीआर ३० एफ १४६९ नम्बरको मोटरसाइकल र बीआर ०६ सिएन ७४४२ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएका थिए।
यस क्रममा बीआर ३० एफ १४६९ नम्बरको मोटरसाइकल चालक मलंगवा नगरपालिका–७ निवासी ३८ वर्षीय हरदास यादव र उनका ७० वर्षीय बुवा अमिन्द्र राय यादव घाइते भएका छन्।
दुवैको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बीआर ०६ सिएन ७४४२ नम्बरको मोटरसाइकल चालक भने फरार भएका थिए।
घटनास्थलमा छाडिएको उक्त मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले सिटमुनि लुकाएर राखिएको ४ किलो ७१० ग्राम गाँजा फेला पारेको हो।
प्रहरीले खोजतलासका क्रममा दुर्घटनापछि फरार रहेका चालक कौडेना गाउँपालिका–१ का रवीन्द्र गिरीलाई मलंगवा नगरपालिका–१० क्षेत्रमा पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरेको छ।
लागुऔषध ओसारपसार तथा सवारी दुर्घटनासँग सम्बन्धित कसुरमा पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।