ट्रेन्डिङ

मधेसका मुख्यमन्त्री यादवले भने- यो प्रदेश सबै समुदायको साझा घर हो, विभाजनले यो समाजलाई कमजोर बनाउँछ

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेस कुनै एक धर्म वा समुदायको मात्र नभई सबै जाति, भाषा र आस्थाका नागरिकको साझा पहिचान भएको बताएका छन्।

विविधताभित्रको एकता नै मधेसको वास्तविक शक्ति भएको उल्लेख गर्दै उनले आपसी विभाजनले समाज, राज्य र नागरिक सबैलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

पछिल्लो समय केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनात्मक गतिविधिप्रति गम्भीर चासो व्यक्त गर्दै मुख्यमन्त्री यादवले हिंसाको बाटो कहिल्यै समाधानको माध्यम बन्न नसक्ने स्पष्ट पारे।

धर्मका नाममा फैलाइने घृणा, द्वेष र उक्साहट सभ्य समाजका लागि स्वीकार्य नहुने उनको भनाइ छ। यस्ता गतिविधिले सामाजिक सद्भाव बिगार्नुका साथै सम्पूर्ण समाजलाई अस्थिर बनाउने उनले बताए।

प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले शान्ति–सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाइने जानकारी दिए।

अफवाह फैलाउने तथा समाजमा घृणा र विभाजन सिर्जना गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याई कडा कारबाही गरिने उनले चेतावनीसमेत दिएका छन्।

मुख्यमन्त्री यादवले धर्मगुरु, राजनीतिक दल, युवा वर्ग र सचेत नागरिकलाई संयमता अपनाउँदै संवाद र सहअस्तित्वको संस्कृतिलाई मजबुत बनाउन आग्रह गरेका छन्।

समस्या समाधानको एकमात्र दीगो उपाय संवाद नै भएको उल्लेख गर्दै उनले द्वन्द्व र हिंसाले कहिल्यै सकारात्मक परिणाम नदिने धारणा व्यक्त गरे।

पछिल्लो समय भएका क्षति र विध्वंसप्रति उनले दुःख व्यक्त गरेका छन्।

मधेस सधैं शान्ति, सद्भाव र मानवीय मूल्यको प्रतीकका रूपमा स्थापित रहने प्रतिबद्धता दोहोर्‍याउँदै मुख्यमन्त्री यादवले सबैलाई सामाजिक एकता जोगाउन साझा जिम्मेवारी निर्वाह गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै