ट्रेन्डिङ

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कुन- कुन प्रदेशमा हल्का वर्षाको सम्भावना ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ।

यसको प्रभावका कारण सुदूरपश्चिम प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीको अवस्था रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

तराई भूभागका धेरै स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना पनि रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात हुन सक्ने भएकाले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै