ट्रेन्डिङ

बारामा सईको हातबाट पेस्तोल खोसियो, तस्कर बेपत्ता, सात दिनसम्म किन लुकाइयो घटना ?

बारा । सीमा क्षेत्रमा तस्कर कति हाबी भइसकेका छन् भन्ने उदाहरण बारामा देखिएको छ ।

नेपाल प्रहरीकै एक अधिकृतको हातबाट पेस्तोल खोसेर तस्कर समूह फरार भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।

अझ गम्भीर कुरा, घटना भएको सात दिनसम्म प्रहरी संगठनले यसलाई गुपचुप राख्यो ।

बाराको इलाका प्रहरी कार्यालय कबहीमा कार्यरत सई सोनुकुमार मिश्रले ड्युटीकै क्रममा बोकेको सरकारी पेस्तोल तस्कर समूहले खोसेर लगेका हुन् ।

पुस ११ गते शुक्रबार साँझ तस्करी नियन्त्रणका क्रममा ‘नाइन एन’ पेस्तोल ताक्नेबित्तिकै तस्करहरूले उनको हतियार थुतेर हतियार लुटेका थिए ।

प्रहरी स्रोतका अनुसार सई मिश्र आफ्नो कार्यक्षेत्रमा कमजोर अधिकृतको रूपमा चिनिँदै आएका थिए ।

यो जानकारी हुँदाहुँदै पनि जिल्ला प्रहरी कार्यालयले उनलाई प्रतिस्थापन नगर्दा तस्करहरूले सजिलै अवसर पाए ।

सीमावर्ती क्षेत्रमा प्रहरी व्यवस्थापनमा चरम लापरवाही भएको आरोप समेत उठ्न थालेको छ ।

अचम्म त के छ भने—घटना भएको ७ दिन बितिसक्दा पनि लुटिएको पेस्तोल अझै फेला परेको छैन ।

तस्कर समूह एक साताअघि नै प्रहरीको हतियार लिएर खुलेआम हिँडिरहेको आशंका गरिएको छ, तर प्रहरी न त हतियार फिर्ता ल्याउन सफल भएको छ, न त तस्कर पक्राउ ।

घटना बाहिरिएपछि मात्रै मधेस प्रदेश प्रहरी कार्यालय तातेको देखिएको छ ।

बिहीबार एसपी भेषराज रिजालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले पेस्तोल हराएको पुष्टि गर्दै छानविन सुरु गरिएको बताएका छन् ।

उनका अनुसार गस्तीका क्रममा पेस्तोल हराएको हो, छानबीन चलिरहेको छ ।

‘छानविन समिति बनाइएको छ, के भएको हो छिट्टै पत्ता लाग्छ,’ एसपी कुँवरको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै