जनकपुर । मधेस प्रदेश सरकारमा नवनियुक्त छ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख सुरेन्द्र लाभले आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्।
शपथ ग्रहण गर्ने मन्त्रीहरूमा जनता समाजवादी पार्टी (जसपा)बाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिष सुमन श्रम तथा यातायात मन्त्री रहेका छन्।
नेपाली कांग्रेसबाट श्याम पटेल कृषि मन्त्री तथा शंकर चौधरी वन तथा वातावरण मन्त्रीको रूपमा शपथ लिएका छन्।
यसैगरी माओवादीबाट फकिरा महतो गृह र जनमत पार्टीबाट वसन्त कुशवाहा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भई शपथ ग्रहण गरेका छन्।
शपथग्रहण समारोहमा मुख्यमन्त्री कृष्णा यादव, मन्त्रिपरिषद् सदस्यहरू, उच्च सरकारी अधिकारी तथा सत्तारुढ दलका नेताहरूको उपस्थिति रहेको थियो।