काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसका कारण तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो यथावत् रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि तराईका अधिकांश स्थानहरूमा हुस्सु रहने प्रक्षेपण गरिएको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।