जनकपुर। आइतबार राती महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकता गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले एकैसाथ मधेस केन्द्रित राजनीतिमा अर्को ठूलो कदम चालेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले आज अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग पनि एकताको घोषणा गर्ने तयारी गरेको हो ।
लगातार दुई दिनमै एकताका निर्णय गर्दै जसपा नेपालले विखण्डित मधेस आन्दोलनलाई पुनः एकीकृत गर्ने संकेत दिएको छ ।
जसपातर्फबाट उपाध्यक्ष रेणु यादवको नेतृत्वमा एकताको पहल अगाडि बढाइएको छ ।
अध्यक्ष अशोक राई अझै औपचारिकरूपमा सहमत नभए पनि उहाँलाई साथमै लिएर एकता घोषणा गर्ने प्रयास भइरहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार अशोक राई सहमत नभए पनि रेणु यादवको नेतृत्वमा रहेको पक्षले आजै जसपा नेपालसँग एकताको घोषणा गर्ने तयारी गरेको छ ।
उपाध्यक्ष यादव पक्षले केन्द्रीय समितिमा आफूहरूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ ।
यसअघि जसपाबाट राजेन्द्र श्रेष्ठ अलग भई नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिसकेका छन् ।
बाँकी रहेका केन्द्रीय सदस्यलाई समेट्दै जसपा नेपालसँग एकता गर्न लागिएको हो ।
आइतबार राती लोसपासँग एकीकरण गर्ने निर्णयपछि आज अशोक राई नेतृत्वको जसपासँग समेत एकता गर्दै जसपा नेपाल मधेस केन्द्रित दलहरूलाई एउटै शक्तिशाली धारमा ल्याउने रणनीतिमा देखिएको छ ।
यसले मधेसको राजनीति नयाँ मोडमा प्रवेश गर्ने संकेत गरेको छ ।