कलैया । बाराको कलैया उपमहानगरपालिका–५ मा निर्माण गरिएको द रोयल कटेज शनिबार औपचारिक रूपमा सञ्चालनमा आएको छ।
एक विशेष समारोहका बीच फेटा गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार तथा जनमत पार्टीका केन्द्रीय सदस्य, युवा नेता उमेश दुबेले रिबन काट्दै कटेजको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै नेता दुबेले स्थानीय क्षेत्रमा नयाँ व्यवसाय स्थापना हुनु उत्साहजनक भएको बताउँदै यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले यस्ता पूर्वाधारले पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउने धारणा राखे।
कटेज व्यवस्थापन पक्षका अनुसार आधुनिक सुविधा, शान्त र पारिवारिक वातावरण तथा गुणस्तरीय सेवाका साथ ‘द रोयल कटेज’ सञ्चालनमा ल्याइएको हो।
स्थानीय ग्राहकसँगै बाहिरी क्षेत्रबाट आउने पाहुनालाई पनि लक्षित गरी सेवा उपलब्ध गराइने जनाइएको छ।
कार्यक्रमको समापनमा अतिथिहरूले कटेज परिसरको अवलोकन गर्दै यसको सफल र दीर्घकालीन सञ्चालनको शुभकामना दिएका थिए।