काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलहरूले बन्द सूची पेस गर्ने आजको कार्यतालिका अनुसार निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सार्वजनिक कार्यतालिका बमोजिम आज र भोलि गरी दुई दिनसम्म दलहरूले समानुपातिकतर्फको बन्द सूची आयोगमा बुझाउन सक्नेछन्।
पुस १३ र १४ गते पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म आयोगले औपचारिक छानबिन गर्नेछ।
छानबिनपछि पुस २१ देखि २७ गतेसम्म बन्द सूचीमा देखिएका त्रुटि सच्याउन दललाई समय दिइने कार्यतालिका तय गरिएको छ।
त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म संशोधित सूची नियमअनुसार भए–नभएको पुनः परीक्षण गरिनेछ।
आयोगले माघ ४ गते प्रारम्भिक बन्द सूची सार्वजनिक गर्ने र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने जनाएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिस्पर्धा गर्न सय वटा राजनीतिक दल दर्ता भएका छन्, जसले ९३ वटा निर्वाचन चिह्न प्रयोग गर्नेछन्।
समानुपातिक प्रणालीमा सहभागी हुन आयोगमा दर्ता भएका दलहरूले मात्रै आज र भोलि बन्द सूचीमा उम्मेदवारको नाम पेस गर्न पाउने स्पष्ट गरिएको छ।
आयोगले तोकिएको समयसीमा र प्रक्रिया पालना गर्न सबै राजनीतिक दललाई आग्रहसमेत गरेको छ।