काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावका कारण तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ।
बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो यथावत् रहनेछ।
पहाडी र हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।
यस क्रममा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु कायम रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा देखिएको हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।