काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको असरका कारण तराईका धेरै स्थानहरू हुस्सु र कुहिरोले ढाकिएका छन् भने पहाडी तथा हिमाली भूभागमा मौसम आंशिक बदलीको अवस्थामा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश क्षेत्रमा हुस्सु कायम रहनेछ।
कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा बिहानको समयमा केही समय कुहिरो लाग्ने सम्भावना छ भने अन्य तराई क्षेत्रमा मध्यान्नसम्म कुहिरो देखिन सक्छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।
त्यसैगरी आज राति पनि तराईका धेरै स्थानमा हुस्सु जारी रहनेछ भने सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य सेवा तथा सडक र हवाई यातायातमा आंशिक अवरोध पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।