रौतहट । प्रहरी कर्मचारीहरूको मानसिक सशक्तीकरण र कार्यक्षमतामा सुधार ल्याउने उद्देश्यले रौतहटमा तनाव व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा तथा प्रादेशिक अस्पताल गौर, रौतहटको सहकार्यमा जिल्ला प्रहरी कार्यालयमा उक्त तालिम सञ्चालन गरिएको हो ।
तालिममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिमका क्रममा प्रहरी सेवामा देखिने कार्यगत दबाब, मानसिक तनावका कारणहरू, त्यसबाट पर्ने प्रभाव तथा तनाव न्यूनीकरणका व्यवहारिक उपायहरूबारे जानकारी गराइएको थियो ।
साथै कार्यस्थलमा सकारात्मक सोच, आत्मनियन्त्रण, समय व्यवस्थापन र मानसिक सन्तुलन कायम गर्ने विषयमा समेत सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो ।
विज्ञहरूले प्रशिक्षण प्रदान गर्दै प्रहरी सेवामा मानसिक स्वास्थ्यको महत्व र तनाव व्यवस्थापनले सेवाको गुणस्तर बढाउन सहयोग पुग्ने बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी कर्मचारीहरूको शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेकाले यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिने जनाएको छ ।
तालिमले प्रहरी कर्मचारीहरूलाई तनाव व्यवस्थापन गर्न सहयोग पुग्ने र सेवा प्रवाह अझ प्रभावकारी हुने जिल्ला प्रहरीको विश्वास छ ।