ट्रेन्डिङ

आज डिसेम्बर २५: ‘क्रिसमस डे’ किन मनाइन्छ ? नेपालमा कति छन् क्रिश्चियन र चर्च ?

वीरगन्ज। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मको सम्झनामा आज नेपालसहित विश्वभर क्रिश्चियन समुदायले ‘क्रिसमस डे’ हर्षोल्लासका साथ मनाइरहेका छन्।

धार्मिक विश्वासअनुसार आजकै दिन करिब दुई हजार २५ वर्षअघि येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार येशुले प्रेम फैलाउन, शान्ति स्थापना गर्न र मानवलाई मुक्ति दिन संसारमा अवतरण गरेको विश्वासका आधारमा क्रिश्चियन समुदायले क्रिसमसलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने परम्परा रहेको छ।

विश्वका धेरै मुलुकमा प्राचीनकालदेखि मनाइँदै आएको क्रिसमस नेपालमा भने विसं २०६३ पछि महासङ्घको पहलमा महोत्सवकै रूपमा मनाउन थालिएको बताइएको छ।

यही अवसरमा महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिँदैछ।

महोत्सवमा सरकारका प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका अधिकारी, मानव अधिकारकर्मी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

क्रिसमस डे का अवसरमा नेपालमा सार्वजनिक बिदाको व्यवस्था पनि समयक्रममा परिवर्तन हुँदै आएको छ।

विसं २०६३ देखि २०७४ सम्म सबैका लागि सार्वजनिक बिदा दिइएको थियो।

त्यसपछि विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो भने विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ।

क्रिसमस नजिकिँदै गर्दा काठमाडौं, पोखरा, बौद्ध, ठमेल, सौराहा लगायतका प्रमुख सहर तथा पर्यटकीय क्षेत्रहरू रंगीन बत्ती र क्रिसमस ‘ट्री’ ले सजिने गरेका छन्।

विशेषगरी पर्यटकको आवागमन बढी हुने स्थानमा क्रिसमसको रौनक अझ बढी देखिने गरेको छ।

महासङ्घको दाबीअनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै