ट्रेन्डिङ

पर्सामा नयाँ शक्ति: नेपाल संघीय समाजवादी पार्टीको जिल्ला कमिटी गठन, रियाज अहमद अध्यक्षमा चयन

वीरगन्ज। नेपाल संघीय समाजवादी पार्टीको पर्सा जिल्ला कमिटी गठनसम्बन्धी जिल्ला भेला वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ।

पार्टीका पर्सा जिल्ला इन्चार्ज सोहेब अन्सारीको उपस्थितिमा तथा राकिब हुसेनको अध्यक्षतामा सम्पन्न भेलाले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो।

भेलाले रियाज अहमदलाई जिल्ला अध्यक्षमा चयन गरेको छ।

त्यसैगरी उपाध्यक्षमा विनोद पासवान र इमरान अली, सचिवमा सबनम खातुन, सह–सचिवमा मोहम्मद हारुन र नोर्से आलम चयन भएका छन्।

सल्लाहकार समितिमा राकिब हुसेन, डा. रकिफ र अब्दुल रौफलगायत अनुभवी व्यक्तित्वहरू समेटिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष रिजवान अन्सारीले संघीयता, समावेशिता र सामाजिक न्याय संविधानमै सीमित रहेको आरोप लगाए।

उनले यसको वास्तविक कार्यान्वयनका लागि निर्णायक राजनीतिक हस्तक्षेप आवश्यक रहेको बताए।

निषाद, मुस्लिम, दलित, थारु, आदिवासी जनजाति, महिला तथा पछाडि पारिएका समुदायहरू ऐतिहासिक रूपमा राज्यसत्ताबाट बहिष्कृत रहँदै आएको उनले उल्लेख गरे।

“हामीले धेरै पटक अरूका सरकार बनायौँ, तर हाम्रा समुदायको अवस्था उस्तै रह्यो,” उनले भने, “अब विभाजित भएर होइन, एकजुट भएर एकल चुनाव चिन्ह ‘बस’ छापमा मतदान गरी आफ्नै सरकार निर्माण गर्ने बेला आएको छ।”

उनले शिक्षा, रोजगारी, स्वास्थ्य, भूमि अधिकार, पहिचान, समानुपातिक समावेशिता र सम्मानजनक प्रतिनिधित्वजस्ता आधारभूत मुद्दा अझै पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै वैकल्पिक, जनमुखी र उत्पीडित–केन्द्रित राजनीतिक धार स्थापित गर्नुपर्नेमा जोड दिए। संगठनलाई गाउँ–गाउँ र टोल–टोलसम्म विस्तार गर्दै जनताको आवाज संसद र सत्तामा पुर्‍याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

अध्यक्ष अन्सारीले पुस २० गते सर्लाहीको मलंगवामा हुने आमसभालाई समानता, अधिकार र सत्तामा सहभागिताका लागि ऐतिहासिक राजनीतिक अभियानका रूपमा चित्रण गरे।

उनले युवा, महिला, मजदुर, किसान, बुद्धिजीवी तथा सबै उत्पीडित समुदायलाई आमसभामा व्यापक सहभागिता जनाउन आह्वान गरे।

कार्यक्रममा नेपाल विशिष्ट अतिथिमा मधेस प्रदेश संसदीय दलकी नेतृ तथा पूर्वगृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारी, केन्द्रीय सदस्य सुरेश हजरालगायत केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको सहभागिता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै