ट्रेन्डिङ

मधेशमा ‘स्वार्थको राजनीति’ हाबी, जन अधिकार पार्टीले भन्यो– अब खबरदारी सडकबाटै

जनकपुर । मधेश प्रदेश सरकारलाई सबै राजनीतिक दलहरूले विश्वासको मत दिएपछि प्रदेशसभा प्रतिपक्षविहीन बनेको भन्दै जन अधिकार पार्टीले आपत्ति जनाएको छ।

पार्टीले यस अवस्थालाई लोकतान्त्रिक मूल्य–मान्यताको उपहास भएको टिप्पणी गर्दै सरकार निरङ्कुश बन्ने जोखिम बढेको चेतावनी दिएको छ।

जन अधिकार पार्टीका अनुसार लोकतन्त्रको मूल आधार चेक एण्ड ब्यालेन्स हो।

तर, सदनभित्र प्रतिपक्ष नै नहुँदा सरकारमाथि प्रभावकारी निगरानी कमजोर हुने र जनसरोकारका मुद्दाहरू ओझेलमा पर्ने खतरा बढ्ने पार्टीको ठहर छ।

“सबै दल सत्तापक्ष बन्नु स्वार्थको राजनीति हो, जसले संसदीय व्यवस्थाको आत्मामाथि चोट पुर्‍याएको छ,” पार्टी अध्यक्ष डा. शरद यादव भन्छन ।

उनका अनुसार पार्टीको संसद्‌भित्र औपचारिक उपस्थिति नभए पनि जनताको आवाज उठाउने जिम्मेवारीबाट हट्ने छैन ।

जन अधिकार पार्टीले ‘सडक नै हाम्रो संसद्’ भन्ने उद्घोष गर्दै अब सडकबाटै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

पार्टीले सरकारका हरेक जनविरोधी तथा गलत निर्णयविरुद्ध सडक संघर्ष चर्काउने चेतावनीसमेत दिएको छ।

“सदन मौन भए पनि जनता मौन बस्ने छैनन्,” अध्यक्ष यादवको भनाइ छ ।

जन अधिकार पार्टीले सत्ता र शक्तिको खेलमा केन्द्रित दलहरूले जनताको अधिकार बिर्सिएको आरोप लगाउँदै आफूहरू जनअधिकारको रक्षाका लागि निरन्तर सजग रहने बताएको छ।

संसद्‌मा आवाज नभए पनि सडकबाट जनभावनालाई बुलन्द पार्दै सरकारलाई खबरदारी गरिरहने पार्टीको निष्कर्ष छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै