वीरगन्ज । मधेस प्रदेशमा आज छैटौँ दिनदेखि लगातार चिसो बढ्दै जाँदा वीरगन्ज आसपास क्षेत्रमा यस वर्षकै सर्वाधिक चिसो मापन गरिएको छ।
चिसोसँगै बाक्लो हुस्सु लागिरहेकाले जनजीवन थप कष्टकर बनेको छ।
स्थानीय मौसम मापनअनुसार मंगलबार बिहान पौने १० बजेसम्म वीरगन्जको तापक्रम १३ डिग्री सेल्सियसमा झरेको छ, जुन गर्मीमा एसीले दिने अधिकतम चिसो १६ डिग्रीभन्दा पनि कम हो।
जनकपुरको तापक्रम पनि १६ डिग्रीभन्दा कम मापन गरिएको छ ।
बारा र पर्सा जिल्लामा चिसोको प्रभाव सबैभन्दा बढी देखिएको स्थानीयवासीले बताएका छन्।
पछिल्ला केही दिनदेखि चिसो ह्वात्तै बढ्दै गएको र बिहीबारदेखि सुरु भएको चिसो अझ तीव्र बन्दै गएको हो।
विशेषगरी बिहान–बेलुका बाक्लो हुस्सु लाग्न थालेपछि दैनिक जनजीवन प्रभावित भएको छ।
सर्वसाधारण घरबाहिर निस्कन कठिनाइ महसुस गर्न थालेका छन् भने विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन्।
चिसो र हुस्सुका कारण सवारी आवागमनमा समेत असर परेको छ।
बिहानको समयमा राजमार्ग तथा ग्रामीण सडकमा सवारी साधनहरू बिस्तारै चलाउनुपर्ने अवस्था देखिएको छ।
यसैबीच चिकित्सकहरूले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
चिकित्सकका अनुसार चिसो मौसममा रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या तथा उच्च रक्तचापका बिरामीहरूमा स्वास्थ्य जटिलता बढ्न सक्ने जोखिम रहन्छ।
त्यसैले न्यानो कपडा लगाउने, अत्यधिक चिसोमा बाहिर ननिस्कने, तातो खानेकुरा सेवन गर्ने र बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन सुझाव दिइएको छ।
मौसम अझ केही दिन चिसो नै रहने अनुमान गरिएको छ।
यसले मधेसका जिल्लामा जनजीवन थप प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय तथा स्थानीय तहले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
