काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
त्यस्तै, आज राति पनि मौसम सफा नै रहने प्रक्षेपण गरिएको छ।
तराई भूभागमा भने हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन प्रभावित हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।
यसले स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।