जनकपुर। मधेश प्रदेशसभाका नवनियुक्त सभामुख रामअशिष यादवले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
जनकपुरस्थित प्रदेशसभा कार्यालयमा आयोजित कार्यक्रममा पदभार सम्हाल्दै उनले आफू कुनै एक दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकको भूमिकामा रहने स्पष्ट पारे।
सभामुख यादवले सदन सञ्चालनमा निष्पक्षता, संवाद र सहकार्यलाई मूल आधार बनाइने बताए।
राजनीतिक दलहरूबीच मतभेद रहनु स्वाभाविक भए पनि प्रदेशको हितका लागि सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले सबै दलसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
उनले मधेश प्रदेशका प्रमुख मुद्दा— समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्य सेवामा पहुँच, रोजगारी सिर्जना तथा सीमावर्ती क्षेत्रसँग जोडिएका चुनौतीहरूलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने जानकारी दिए।
प्रदेशसभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुख यादवले बजेट कार्यान्वयनको अवस्था, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तर सुधारमा संसद् अझ सशक्त हुनुपर्ने धारणा राखे।
लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप प्रदेशसभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सभामुखको भूमिका राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि हुने उल्लेख गरे।
संविधान, कानुन र संसदीय नियमावलीको पूर्ण पालना गराउँदै सभालाई जनउत्तरदायी बनाउने आफ्नो दायित्व रहने उनको भनाइ छ ।