काठमाडौँ । जन अधिकार पार्टीले बंगलादेशमा अल्पसंख्यक समुदायका युवा दिपुचन्द्र दासको भीडद्वारा गरिएको निर्मम हत्याको कडा शब्दमा निन्दा गरेको छ।
पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा मेमनसिंह जिल्लाका २७ वर्षीय हिन्दु युवा गार्मेन्ट मजदुर दासलाई आधारहीन आरोप लगाउँदै भीडले कुटपिट गरी हत्या गरेको र पछि शवलाई पेट्रोल छर्केर आगो लगाइएको घटनालाई अमानवीय तथा जघन्य अपराधको रूपमा उल्लेख गरिएको छ।
जन अधिकार पार्टीका अनुसार यस्तो अपराध कुनै पनि दृष्टिले कानुनी शासनभित्र पर्न सक्दैन र यो सम्पूर्ण मानवताविरुद्धको अपराध हो।
पार्टीले घटनामा संलग्न सबै दोषीलाई कडा कारबाही गर्न तथा अल्पसंख्यक समुदायको जीवन र अधिकारको सुनिश्चितता गर्न बंगलादेश सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा अल्पसंख्यक समुदायको बाँचेको अधिकार सुनिश्चित गर्न, पीडित परिवारको सुरक्षा र उचित क्षतिपूर्ति प्रदान गर्नसमेत जोडदार माग गरिएको छ।
पार्टीले मानवअधिकार संरक्षण राज्य, राजनीतिक दल, नागरिक समाज र आम नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै हिंसा, अन्याय र विभेदविरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।
जन अधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा. शरद सिंह यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण, न्यायपूर्ण र मानवअधिकारमैत्री समाज निर्माणप्रति पार्टी सधैँ प्रतिबद्ध रहने स्पष्ट पारिएको छ।