जनकपुर । मधेस प्रदेशमा मन्त्रीमण्डलको भागबन्डा टुंग्याउन आज पुनः सत्तारुढ दलहरूको बैठक बसेको छ।
शनिबार बसेको बैठक निष्कर्षविहीन भएपछि सहमति जुटाउने प्रयासस्वरूप आइतबार बिहान फेरि बैठक बोलाइएको हो।
बैठक बिहान ९ बजेदेखि सुरु भएको र मन्त्रालयको बाँडफाँड मुख्य एजेन्डा रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।
उनका अनुसार शनिबारको बैठकमा दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति नजुटेपछि आज पुनः छलफल अघि बढाइएको हो।
नेताका अनुसार आइतबार बिहान बसेको बैठकबाट मन्त्रीमण्डलको भागबन्डाबारे टुंगो लगाउने प्रयास भइरहेको छ।
सत्ता साझेदार दलहरूबीच मन्त्रालय संख्या, जिम्मेवारी र समन्वयका विषयमा गहन छलफल चलिरहेको बताइएको छ।
छ दलीय समर्थनमा बनेको प्रदेश सरकारको मन्त्रीमण्डल अझै पूर्ण हुन नसकेको अवस्थामा आजको बैठकलाई महत्वपूर्ण मानिएको छ।
आजको बैठकबाट सहमति जुटेमा छिट्टै मन्त्रीमण्डल विस्तार हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
प्रदेश सरकारलाई स्थायित्व दिन र प्रशासनिक कामलाई गति दिन मन्त्रालय भागबन्डा टुंग्याउन आवश्यक रहेकाले सत्ता साझेदार दलहरूबीच दबाब बढ्दै गएको छ।