जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले प्रदेश सभाबाट शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार सम्पन्न प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले सबै सांसदको समर्थनसहित ऐतिहासिक विश्वासको मत पाएका हुन् ।
यसअघि छ दलको समर्थनमा सरकार गठन गरेका मुख्यमन्त्री यादवलाई आजको विश्वासको मत प्रक्रियामा विपक्षी दलले समेत समर्थन जनाएका छन् ।
प्रदेश सभामा उपस्थित सबै राजनीतिक दलका सांसदहरूले मुख्यमन्त्री यादवको पक्षमा मत दिएपछि उनले १०० प्रतिशत विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।
प्रदेश सभाकी उपसभामुख बबिता राउतले जानकारी दिँदै विश्वासको मत प्रक्रियामा उपस्थित ९२ जना सांसद सबैले मुख्यमन्त्री यादवलाई समर्थन गरेको बताइन् ।
उनका अनुसार कुनै पनि सांसदले विपक्षमा मत नदिएको र यो मधेस प्रदेशको संसदीय इतिहासमै दुर्लभ घटना भएको छ ।
प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णा यादवले आफूलाई सर्वसम्मत रुपमा विश्वासको मत दिएकोमा धन्यवाद दिएका थिए ।
उनले सरकार गठनदेखि आजसम्म सहकार्य, संवाद र सहमतिको राजनीति अघि बढाउँदै आएको उल्लेख गर्दै सबै दलको समर्थनले सरकारलाई थप जिम्मेवार बनाएको बताए ।
राजनीतिक विश्लेषकहरूका अनुसार छ दलको गठबन्धनमा बनेको सरकारले विपक्षी दलको समेत समर्थन पाउनु प्रदेश सरकारको स्थायित्व र आगामी नीतिगत निर्णयमा सहजता ल्याउने संकेत हो ।
शतप्रतिशत विश्वासको मतले मधेस प्रदेशको राजनीति नयाँ चरणमा प्रवेश गरेको टिप्पणीसमेत गरिएको छ ।