जनकपुर । ६ दलीय गठबन्धनको समर्थनमा सरकार गठन भएको ठीक १५ दिनपछि मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
प्रदेश सभा सचिवालयका अनुसार शुक्रबार अपराह्न ४ बजे बोलाइएको बैठकको मुख्य कार्यसूचीमै विश्वासको मत लिने विषय समावेश गरिएको छ ।
मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६ दलका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले आज सदनमा बहुमत प्रमाणित गर्न लागेका हुन् ।
सरकार गठनपछि सत्तारुढ दलहरूबीच भएको सहमतिअनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो ।
गत सोमबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको सात दलको बैठकले शुक्रबार विश्वासको मत लिने निर्णय गरेपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा औपचारिक पत्र पठाएका थिए ।
विश्वासको मतका लागि साधारण बहुमत आवश्यक भए पनि मुख्यमन्त्री यादवसँग दुई तिहाइभन्दा बढी समर्थन रहेको बताइएको छ ।
यसअघि मुख्यमन्त्री रहेका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि अब बन्ने सरकारलाई समर्थन गर्ने सार्वजनिक अभिव्यक्ति दिएकाले यादवले लगभग सर्वसम्मत विश्वासको मत पाउने अनुमान गरिएको छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा एमालेका २५ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९ (एक निलम्बित), जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादीका ७ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना सदस्य छन् ।