काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा भएको मतदान प्रक्रिया करिब २२ घण्टा लामो समयपछि सम्पन्न भएको छ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन्, जुन ९८.०४ प्रतिशत मत खसेको हो।
बाँकी ३६ जना मतदानमा सहभागी हुन सकेनन्।
बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो।
मतदानको सुरुवात अध्यक्ष पदका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेका थिए भने अन्तिम मत नेता योगेश भट्टराईले खसालेका थिए।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको एमालेको ११औँ महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा अघि बढेको थियो।
सो दिन बिहान ७ः३० बजे सुरु हुने भनिएको बन्दसत्र अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ः३० बजे मात्र सुरु भएको थियो।
नयाँ नेतृत्व चयनका लागि सुरुमा पुस १ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि पटक–पटक स्थगित हुँदै अन्ततः पुस २ गते बिहान ९ः३० बजेदेखि मतदान सुरु गरिएको थियो।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ।
त्यस्तै, पार्टीको शक्तिशाली पद मानिने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे आमनेसामने छन्।
विधानअनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदमा ११ जनाको उम्मेदवारी परेको छ भने तीन जना निर्वाचित हुने उपमहासचिव पदका लागि छ जना प्रतिस्पर्धामा छन्।
नौ सिट रहेको सचिव पदमा भने सबैभन्दा बढी आकर्षण देखिएको छ, जहाँ २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
सचिव पदका उम्मेदवारहरूमा गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राईलगायतका नेताहरू रहेका छन्।