जलेश्वर । महोत्तरी प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गौशाला नगरपालिका–८ स्थित खल्टे बजारको भित्री सडक खण्डमा जाँचका क्रममा लागुऔषध बरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले महोत्तरीबाट खल्टे बजारतर्फ आउँदै गरेको बीआर ३० डब्लु १३०९ मोटरसाइकललाई रोकी जाँच गर्दा चालक र पछाडि सवार व्यक्तिले बोकेको झोलाबाट गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक महोत्तरी सोनमा गाउँपालिका–३ बस्ने २० वर्षीय हरेन्द्र बैठा र पछाडि सवार सोही स्थानका अन्दाजी २२ वर्षीय अर्जुन बैठाले बोकेको झोलाबाट प्लास्टिकमा प्याक गरिएको गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो ।
प्रहरीका अनुसार २ पोका गरी जम्मा १० किलो गाँजा जस्तो देखिने पदार्थ रहेको बरामद भएको हो ।
बरामद लागुऔषध, मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।