वीरगन्ज । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वीरगन्जको गहवामाई मन्दिर परिसर पुनः सौन्दर्यकरण गर्ने काम सुरु गरिएको छ ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा मन्दिर परिसरमा लगाइएको छेकबार तोडफोड भएपछि क्षेत्र अस्तव्यस्त बनेको थियो ।
तोडफोडका कारण मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य र आवागमन व्यवस्थापनमा समस्या देखिएपछि वीरगन्ज महानगरपालिकाले आजबाट पुनः व्यवस्थापन तथा सौन्दर्यकरणको काम अघि बढाएको हो ।
वीरगन्जको प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको गहवामाई मन्दिरको संरक्षण, सुरक्षा र सौन्दर्य कायम राख्नु आवश्यक रहेको भन्दै महानगरपालिकाले बिहानैदेखि काम सुरु गरेको जनाएको छ ।
स्थानीयवासी तथा भक्तजनहरूले लामो समयदेखि मन्दिर परिसरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन माग गर्दै आएका थिए ।
पुनः सुरु गरिएको यस सौन्दर्यकरण कार्यले मन्दिर क्षेत्रको धार्मिक महत्व जोगिनुका साथै श्रद्धालुहरूलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउने विश्वास गरिएको छ ।