सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले विशेष सूचनाको आधारमा ३१ किलोभन्दा बढी लागुऔषध गाँजासहित दुइ जनालाई पक्राउ गरेको छ ।
जिल्ला सर्लाही बरहथवा नगरपालिका–१२ स्थित हरिवनबाट इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा आउँदै गरेको मोटरसाइकल रोकी जाँच गरेको थियो।
हरिवनबाट बेल्हीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाले मोटरसाइकलको बीचमा प्लास्टिकको बोरामा शंकास्पद वस्तु बोकेको देखिएपछि प्रहरीले जाँच गर्दा रातो प्लास्टिकले बेरिएका ६ पोकामा राखिएको प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको हो।
बरामद गाँजाको तौल प्लास्टिकसहित ३१ केजी ५९० ग्राम रहेको प्रहरीले जनाएको छ।
गाँजासँगै प्रहरीले मोटरसाइकल, किप्याड मोबाइल २ थान, स्क्रिन टच मोबाइल १ थान, नेपाली रुपैयाँ ७१ हजार ५७५, भारतीय रुपैयाँ ९ हजार ७ सय, एटीएम कार्ड १ थान तथा ब्राउन रंगको छालाको खाली ब्याग १ थान बरामद गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ ठुलो घुम्ने टोल निवासी कान्छा राम स्याङतान र सानो घुम्ने टोल निवासी मान बहादुर ठोकर रहेका छन्।
उनीहरूलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।