वीरगन्ज। वीरगन्ज महानगरपालिकाले घण्टाघर चोक नजिकै रहेको बिपी उद्यान अतिक्रमणमुक्त गर्दै त्यहाँ सञ्चालन हुँदै आएका अस्थायी पसलहरू हटाएको छ ।
उद्यानलाई थप व्यवस्थित र आकर्षक पार्कका रूपमा विकास गर्ने उद्देश्यले उक्त कदम चालिएको महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार बिपी उद्यान क्षेत्रमा फलफूल, तरकारी, कपडा तथा विभिन्न खानाका अस्थायी स्टलहरू राखिँदा क्षेत्र अव्यवस्थित बन्दै गएको थियो ।
यसलाई व्यवस्थित गर्न र सर्वसाधारणका लागि खुला पार्क निर्माण गर्न ती पसल हटाइएको हो ।
उक्त क्षेत्रमा करिब २५० भन्दा बढी व्यवसायीहरूले अस्थायी टहरा बनाएर व्यापार गर्दै आएका थिए ।
हटाइएका व्यवसायीहरूका लागि छपकैयाँस्थित रेल्वे सडक क्षेत्रमा आवश्यक संरचना तयार गरिएको महानगरले जानकारी दिएको छ ।
बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उपस्थितिमा उद्यान क्षेत्र खाली गराइएको थियो ।
महानगरपालिकाले शहरको सौन्दर्य र व्यवस्थित विकासका लागि यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ ।