ट्रेन्डिङ

आसन्न निर्वाचनका लागि जसपाको सर्कुलर, तोकियो उम्मेदवार सिफारिसको समयसीमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरेको छ।

पार्टीले यससम्बन्धी सर्कुलर जारी गर्दै मातहतका सबै समितिलाई तोकिएको समयसीमाभित्र उम्मेदवारहरूको नाम पठाउन निर्देशन दिएको हो।

पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र उम्मेदवारहरूको नाम जिल्ला समितिमा पठाइसक्नुपर्नेछ।

त्यस्तै जिल्ला समितिले आवश्यक निर्णयसहित पुस १५ गतेभित्र प्रदेश समितिमा नामावली बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नाममाथि छलफल गरी प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म सम्भावित उम्मेदवारको नाम अनिवार्य रूपमा पुस २० गतेभित्र केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको सङ्घीय संसदीय बोर्डमा पठाउनुपर्ने जनाइएको छ।

समानुपातिक तर्फ भने प्रत्येक जिल्लाबाट कम्तीमा तीन जना पुरुष र तीन जना महिला गरी जातीय क्लस्टरअनुसार समावेशी ढंगले उम्मेदवारको नाम पुस १ गतेभित्र प्रदेश समितिमा पठाउनुपर्नेछ।

प्रदेश समितिले त्यसबारे छलफल गरी आफ्नो रायसहित पुस ५ गतेभित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा सिफारिस गर्नुपर्ने बस्नेतले जानकारी दिए।

निर्धारित समयभित्र प्रत्यक्ष वा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम प्राप्त नभएमा सङ्घीय संसदीय बोर्डले नै उम्मेदवार मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ।

साथै बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिका बैठकका निर्णय पुस्तिकाको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने जनाइएको छ।

पार्टी विधानअनुसार योग्यता पूरा गरेका कुनै पनि संगठित सदस्यले प्रत्यक्ष वा समानुपातिक दुवै तर्फ उम्मेदवार हुन चाहेको खण्डमा सिधै केन्द्रीय कार्यालय वा सङ्घीय संसदीय बोर्डमा आवेदन दिन सक्ने व्यवस्था पनि रहेको छ।

यस्ता आवेदनमाथि बोर्डले सम्बन्धित जिल्ला र प्रदेश समितिसँग परामर्श गरी निर्णय लिनेछ।

उम्मेदवार छनोटसम्बन्धी अन्तिम निर्णय सङ्घीय संसदीय बोर्डले गर्ने जसपाले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै