काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताबीचको मिलनबिन्दु आफू भएको बताएका छन्।
पार्टीभित्र तथा बाहिर विभिन्न फोरममा लामो समयदेखि युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने विषय उठाउँदै आए पनि त्यसको पर्याप्त सुनुवाइ नभएकै कारण वर्तमान परिस्थिति सिर्जना भएको उनले बताए।
कोइरालाले कोभिड–१९ महामारीकै समयदेखि केन्द्रमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवा प्रतिनिधित्वको प्रस्ताव अघि सारेको स्मरण पनि गराए।
विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूसँग भएको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पुर्याएको योगदान सधैं उच्च सम्मानयोग्य रहेको बताए।
देश र पार्टी दुवै अत्यन्तै कठिन मोडमा उभिएको उल्लेख गर्दै उनले कांग्रेस पार्टीको पुनर्निर्माणका लागि प्रजातन्त्र सेनानीहरूको अनुभव र मार्गदर्शन अझै अपरिहार्य रहेको स्पष्ट पारे।
“सयौं योद्धा र युवाहरूको रगत र पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन देखिएको छ,” कोइरालाले भने, “पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण आवश्यक छ।”
भेटघाट कार्यक्रममा उपस्थित जिल्ला–जिल्लाबाट आएका प्रजातन्त्र सेनानीहरूलाई कोइरालाले पार्टीको आसन्न महाधिवेशन र आम निर्वाचनमा सक्रिय रूपमा होमिन निर्देशन दिएका छन्।