ट्रेन्डिङ

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सल्लाघारीमा भव्य उद्घाटन

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।

महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा भव्य समारोहका बीच हुने भएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका सबै तयारी पूरा भइसकेका छन्।

उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता–कार्यकर्ता तथा समर्थकको सहभागिता रहने अपेक्षा गरिएको छ।

समारोहमा नेपालको एकता, पहिचान र विविधतालाई झल्काउने २०० भन्दा बढी कला संस्कृति समेटिएका झाँकी प्रस्तुत गरिने तयारी गरिएको छ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न १६ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

साथै भ्रातृत्व र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका कूटनीतिक नियोग तथा विदेशी पार्टी प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको एमालेले जनाएको छ।

महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न २४ वटा जनसङ्गठनको सहभागितामा ५०० भन्दा बढी स्वयंसेवक ड्रेसकोडसहित परिचालन गरिनेछ।

जनसेवा तथा व्यवस्थापनका लागि करिब १० हजार तालिम प्राप्त स्वयंसेवक खटाइने तयारी गरिएको जनाइएको छ।

उद्घाटन मञ्च लिच्छविकालीन राजा हरिदत्तले स्थापना गरेको ऐतिहासिक चाँगुनारायण मन्दिरलाई मुख्य प्रतीक बनाएर निर्माण गरिएको छ।

मञ्चमा उपत्यकाका विभिन्न महत्वपूर्ण मन्दिरको कलात्मक झल्कोसमेत प्रस्तुत गरिएको छ।

सहभागीले टाढाबाट समेत कार्यक्रम प्रस्ट देख्न र सुन्न सकून् भनेर मञ्चको दायाँ–बायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन र तीन किलोमिटर टाढासम्म आवाज पुग्ने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ।

मञ्चअगाडि नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ।

उद्घाटन समारोहमा राष्ट्रिय एकताको सन्देश दिने सांगीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्नेछन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई रिमोटमार्फत बालेर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

११औँ महाधिवेशनको प्रतीकस्वरूप ११ वटा झन्डा राखिनेछन्, जसमा १० वटा झन्डा उद्घाटनअघि फहराइने र एउटा झन्डा रिमोटमार्फत फहराइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै