ट्रेन्डिङ

पर्सामा ७६ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चारजना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिकाको प्रतिमा चोकबाट विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा उनीहरू समातिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलन गरी ७६ हजार १ सय ७० पिस ट्रामाडोल क्याप्सुल बरामद गरिएको जानकारी दिएको छ।

पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकका अनुसार सवारी जाँचका क्रममा एक इभी गाडी रोकेर तलासी गर्दा उक्त ठूलो परिमाणको प्रतिबन्धित ट्याब्लेट भेटिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरू केही समयदेखि अवैध रूपमा लागुऔषध ओसारपसारमा संलग्न रहेको सूचनाका आधारमा निगरानीमा राखिएको थियो।

सोही क्रममा बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको गाडीमा राखिएको झोलाभित्र लुकाइएका क्याप्सुल फेला परेको हो।

चारैजना फरक–फरक स्थानमा बसोबास गर्दै आएका छन्।

पक्राउ परेकामध्ये वीरगन्ज महानगरपालिका–२४का युवराज पटेल र अफजल देवान रहेका छन्।

त्यस्तै, धादिङ जिल्ला बेनीघाट–रोराङ गाउँपालिका–६का रामहरि मगर तथा धादिङकै सिद्लेख गाउँपालिका–७का राजकुमार मगराती पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै