जनकपुर । मधेस प्रदेश सरकारमा सहभागी सत्तारुढ दलहरुको बैठक भोली बस्दैछ ।
मन्त्रिपरिषद् विस्तार र विश्वासको मतको मिति तय गर्न शुक्रबार सत्तारुढ दलहरूको बैठक बोलाइएको हो । मधेस भवनमा बस्ने गरी बैठक बोलाइएको बताइएको छ ।
नयाँ सरकार गठन भएको आज ७ दिन पुग्दासमेत प्रमुख राजनीतिक निर्णयहरू बन्न नसक्दा गठबन्धनभित्र समन्वय र सहमतिका विषय पुनः केन्द्रमा आएका छन्।
मंसिर १९ गते कांग्रेस नेतृत्वमा ६ दलको समर्थनमा कृष्णा यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
पदभार सम्हालेपछि उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
एक जनालाई अर्थ मन्त्रीको जिम्मेवारी दिइएको छ भने बाँकी दुईजना बिना विभागीय मन्त्रीका रूपमा समावेश भएका छन्।
तर, मन्त्रालय बाँडफाँड तथा मन्त्रीहरूको पूर्ण विस्तार अझै हुन सकेको छैन।
सरकार गठनपछि अनिवार्यरूपमा लिनुपर्ने विश्वासको मत कहिले लिने भन्ने विषय पनि अनिश्चित नै छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अहिलेसम्म स्पष्ट निर्णय नआएपछि प्रदेशको राजनीतिक गतिविधि ढिलो गतिमा अघि बढिरहेको चर्चा चुलिएको छ ।
मूलतः यिनै विषयमा सहमति जुटाउन तथा सरकार सञ्चालनका अन्य मुद्दामा समान धारणा बनाउन सत्तारुढ दलहरूको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए।
उनका अनुसार बैठकबाट मन्त्रिमण्डल विस्तार, मन्त्रालयको जिम्मेवारी बाँडफाँड र विश्वासको मत लिने समयबारे अन्तिम टुंगो लाग्नेछ।
जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र कांग्रेसको गठबन्धनमा मधेसमा नयाँ सरकार निर्माण भएको छ ।