सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगर नजिकबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
आइतबार दिउँसो गस्तीमा रहेको प्रहरी टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम फेला पारेको हो ।
प्रहरी टोलीले भारतीय नम्बरको बीआर ३० वाइ ३२८७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक भारत बिहार, सितामढी, सोनवर्सा–२ का २९ वर्षीय धर्मेन्द्र महतोको साथबाट ठूलो परिमाणको नगद बरामद गरेको हो ।
प्रहरीले महतोको साथबाट १२ लाख २९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
रकमको स्रोत खुलाउन नसकेपछि महतोसहित मोटरसाइकल र सबै नगद रकम नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि सर्लाही जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।