जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवको शपथग्रहण ऐतिहासिक बनेको छ।
पहिलोपटक पाँचजना पूर्वमुख्यमन्त्रीहरूले शपथ ग्रहण कार्यक्रममा सहभागिता जनाएका छन्, जसले प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ ऐतिहासिक मोडको संकेत दिएको छ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री लालबाबु राउत, सरोज यादव, सतिश सिंह,जितेन्द्र सोनल र सरोज यादवसहित कांग्रेस र मधेस केन्द्रित अन्य दलका उच्च तहका नेताहरू उपस्थित थिए।
कार्यक्रममा सहभागी सबै नेताहरूले शपथ खाएपछि मुख्यमन्त्री यादवलाई बधाइ दिएका थिए।
यस शपथग्रहणको महत्व केवल राजनीतिक प्रतिनिधित्वमा सीमित छैन।
यसले मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुदृढ बनाउने संकेत दिएको छ।
कांग्रेस नेतृत्वमा पहिलोपटक मधेसमा सरकार गठन भएको यो कार्यक्रम, गठबन्धनका सबै प्रमुख दलहरूले समर्थन जनाएका बेला भएको हो।
शपथग्रहण समारोहमा राजनीतिक नेतासँगै सुरक्षा निकायका पदाधिकारी, सामाजिक संघसंस्था र सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो।
मुख्यमन्त्री यादवले शपथग्रहणपछि आफ्नो मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनको प्रक्रिया अघि बढाउने तयारी सुरु गरेका छन्।
राजनीतिक विश्लेषकहरूले यो शपथग्रहण मधेसको राजनीतिमा स्थायित्व र सहमतिको दिशामा महत्वपूर्ण कदम भएको टिप्पणी गरेका छन्।
