जनकपुर । मधेस प्रदेशमा कांग्रेस नेतृत्वमा सरकारले बन्ने सहमति भएसँगै सात दलीय गठबन्धन अब सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुख समक्ष जान लागेको छ।
गठबन्धनमा सहभागी दलहरूले बहुमत सांसदको हस्ताक्षर सहितको समर्थनपत्र तयार पारेका छन्।
सहमति जुटेसँगै सात दलका शीर्ष नेता दाबी पेस गर्ने तयारीमा जुटेको एक कांग्रेस सांसदले जानकारी दिए।
उनका अनुसार, कांग्रेस नेतृत्वमा सरकार बनाउने निर्णयपछि गठबन्धनका सबै दल दाबी पेस गर्न एकैसाथ प्रदेश प्रमुख सुरेन्द्र लाभको कार्यालयतर्फ जाँदैछन्।
प्रदेश प्रमुखले सरकार गठनका लागि तोकेको समयसीमा सकिनुभन्दा केही क्षणअघि दाबी पेस गर्न लागिएको र पत्र बुझाइएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने बताइएको छ।
गठबन्धनभित्र मन्त्रालय भागबण्डाका विषयहरू शपथ ग्रहणपछि टुंगो लगाइने तयारी छ।
सात दल एकैसाथ दाबी पेस गर्न लागेपछि मधेस प्रदेशको राजनीतिक गतिशीलता आज निर्णायक मोडमा पुगेको छ।