जनकपुर । मधेसमा नयाँ सरकार गठनको प्रक्रिया आज मध्याह्नदेखि झन् पेचिलो बन्दै गएको छ।
बिहीबार अबेर राति सात दलले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति गरे पनि शुक्रबारदेखि उक्त सहमति भंग भएको छ।
सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभले तोकेको समयसीमा द्रुतगतिमा सकिँदै गएको छ।
दाबी पेश गर्न अब करिब अढाइ घन्टा मात्रै बाँकी हुँदा मधेस केन्द्रित दलहरूको आकस्मिक ‘यूटर्न’ ले सत्ता समीकरण पूर्ण रूपमा बदलिएको छ।
उच्च स्रोतका अनुसार शुक्रबार बिहानैदेखि मधेस केन्द्रित दलहरू नेपाली कम्युनिस्ट पार्टीसँग बेग्लै छलफलमा जुटेका छन्।
यी दलहरूको संयुक्त अन्तर्क्रियापछि बिहीबार रातिको सात दलबीचको आन्तरिक सहमति स्वतः निष्क्रिय बनेको स्रोतले जनाएको छ।
छलफलमा सहभागी एक नेताका अनुसार, नयाँ सत्ता समीकरणको प्रारम्भिक खाका तयार भइसकेको छ।
अहिले कांग्रेसलाई सभामुखसहित केही ‘आकर्षक’ मन्त्रालय दिएर सरकारमै सहभागी गराउने विकल्प गम्भीर रूपमा हेरिएको बताइएको छ।
कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रारम्भिक सहमति भंग भइसकेपछि दलहरूबीच ‘पावर सेयरिङ’ को नयाँ फार्मुला खोज्ने कार्य तीव्र भएको देखिन्छ।
मधेस केन्द्रित दल तथा नेकपाका नेताहरूबीच आन्तरिक सहमति बनेपछि मात्रै नयाँ सरकार गठनको मोडेल टुंगो लाग्ने बताइएको छ।