ट्रेन्डिङ

मधेशमा मुख्यमन्त्री दाबी पेस गर्ने आज अन्तिम दिन, सात दलीय गठबन्धनले कसलाई दियो ‘सिएम’ को जिम्मा ?

जनकपुर । सात दलीय सहमति अनुसार मधेश प्रदेशमा आज नयाँ सरकार गठनको दाबी पेस गरिँदैछ, र यही दाबी पेश गर्ने अन्तिम दिन पनि हो।

मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियामा सात दलीय गठबन्धनले कांग्रेस नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति गरिसकेपछि अब आजै प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

आठ घण्टा लामो गहन छलफलपछि कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच बिहीबार मध्यान्हदेखि सुरु भएको बैठक साँझ अबेर मात्रै टुंगिएको हो।

बैठकमा विशेष रूपमा चार मधेस–केन्द्रित दललाई आपसी सहमति जुटाउने जिम्मेवारी दिइएको थियो। ती दलबीच सहमति बनाएपछि कांग्रेस नेतृत्वमा सात दल मिलेर संयुक्त सरकार बनाउने प्रारम्भिक समझदारी भइसकेको कांग्रेसका एक सांसदले बताए।

उनले भने, “आजको बैठकमा मुख्यमन्त्री कांग्रेसकै हुने पक्का भइसकेको छ। सातै दल यहीमा एकमत छन्। तर अन्तिम हस्ताक्षर भने भोली बिहान गर्ने सहमति भएको छ।”

जसपा संसदीय दलका नेता सरोजकुमार यादवले पनि बैठकले नयाँ मुख्यमन्त्रीको टुंगो लगाइसकेको पुष्टि गरे।

“नाममा सहमति भइसकेको छ, अहिले गोप्य छ। भोलि दिउँसो २ बजे नै सातै दल मिलेर प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेश गर्छौं,” उनले भने।

उनका अनुसार सात दलको भावना अनुरूप मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलका मन्त्रीहरूको शपथ गराउने तयारी छ।

पहिलो चरणमा गठबन्धनले मुख्यमन्त्रीको नाममा मात्र सहमति गरेको र मन्त्रालयहरूको अन्तिम भागबन्डा भने शपथपछि टुंग्याइने बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै