जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियामा सात दलीय गठबन्धनले कांग्रेस नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति गरेको छ।
आठ घण्टा लामो गहन छलफलपछि सात दलले कांग्रेस नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति गरेको बैठकमा एक नेताले बताए ।
बिहीबार मध्याह्नबाट सुरु भएको नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूबीचको बैठक साँझ अबेर मात्रै टुंगिएको हो।
बैठकमा विशेषरूपमा चार मधेस केन्द्रित दलहरूलाई आपसी सहमति जुटाउने जिम्मेवारी दिइएको थियो ।
चार मधेस केन्द्रित दलबीच सहमति बनेपछि कांग्रेसलाई मुख्यमन्त्री बनाएर सात दलको संयुक्त सरकार गठन गर्ने प्रारम्भिक समझदारी भइसकेको कांग्रेसका एक सांसदले बताए ।
उनले भने, “आजको बैठकमा मुख्यमन्त्री कांग्रेसकै हुने पक्का भइसकेको छ । सातै दल यसैमा एकमत छन् । तर अन्तिम हस्ताक्षर भने भोली बिहान गर्ने सहमति भएको छ।”
जसपा संसदीय दलका नेता सरोजकुमार यादवले पनि बैठकले नयाँ मुख्यमन्त्रीको टुंगो लगाइसकेको पुष्टि गरे।
“नाममा सहमति भइसकेको छ, अहिले गोप्य छ। भोलि दिउँसो २ बजे नै सातै दल मिलेर प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेश गर्छौं,” उनले भने।
उनका अनुसार सात दलीय गठबन्धनको भावना अनुरूप मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलबाट मन्त्रीहरूको शपथ पनि गराउने तयारी छ।
पहिलो चरणमा गठबन्धनले मुख्यमन्त्रीको नाममा मात्र सहमति गरेको र अन्य मन्त्रालयहरूको भागबन्डा शपथपछि टुंग्याइने बताइएको छ।
