जनकपुर । मधेस प्रदेशमा नेतृत्व रिक्त भएपछि नयाँ सरकार गठनका लागि सात दलबीच तीव्र राजनीतिक कसरत सुरु भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेपछि राजनीतिक गतिविधि थप तीव्र बनेको छ।
आगामी मुख्यमन्त्री पद कसको पोल्टामा पर्ने भन्नेमा सबै दल सक्रिय देखिएका छन्।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार निर्माणको नेतृत्व लिन दाबी गरेको छ भने लोसपाले पनि मुख्यमन्त्री पद पाउने दाबी गर्दै आन्तरिक र बाह्य सम्पर्क समन्वय तीव्र बनाएको स्रोतले जनाएको छ।
यता, सभामुख पद रिक्त भएकाले जसपा नेपाल उक्त पद आफ्नो भागमा पर्नुपर्ने दाबी गर्दै सक्रिय देखिएको छ।
सात दलबीच नयाँ सत्ता समीकरण बनाउने क्रममा ‘प्याकेज सहमति’ खोज्ने प्रयास तीव्र भएको स्रोतले बताएको छ।
तर, प्रदेश प्रमुखले तोकेको समयसीमा ( शुक्रबार साँझ ५ बजेसम्म) नजिकिँदै जाँदा समेत दलहरूबीच सहमति स्पष्ट हुन सकेको छैन।
मुख्यमन्त्री र सभामुखको नेतृत्व कसरी बाँड्ने, कुन दलले कुन जिम्मेवारी पाउने, र सत्ता साझेदारीको फारम्याट कस्तो हुने—यी विषयमा सात दलबीच एउटै मत बन्न सकेको छैन।
यद्यपि, आज दिउँसो १ बजे सात दलको निर्णायक बैठक बस्ने तय भएको छ।
माओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार आजको बैठकमै ‘प्याकेज’ सहमति टुंग्याउने प्रयास हुनेछ, बैठकको मुख्य लक्ष्य मुख्यमन्त्रीदेखि सभामुखसम्मको नेतृत्व बाँडफाँट फाइनल गर्नु हो।
“यदि सहमति आजै बनेमा बल्लतल्ल साँझभित्रै दाबी पेस हुन सक्छ, नभए भोली तोकिएको अन्तिम समयसीमाभित्र दाबी पेश गर्ने तयारी गरिन्छ,” उनले बताए।
समयसीमा नजिकिँदै जाँदा सत्ता समीकरण कसतर्फ ढल्किन्छ भन्ने बारेमा उत्सुकता प्रदेश राजधानी जनकपुरमा बढ्दो छ।
नयाँ सरकार गठनको प्रक्रिया आजको बैठककै नतिजामा निर्णायक मोड लिन सक्ने देखिएको छ।
सत्ता ‘रिबूट मोड’ मा प्रवेश गरेको मधेस प्रदेशमा आजको बैठकले आगामी राजनीतिक मार्गचित्र निर्धारण गर्ने अनुमान गरिएको छ।