जनकपुर । राप्रपा मधेसकी सांसद कञ्चन बिच्छा पार्टी निर्णय उल्लङ्घन गर्दै एमाले सरकारमा मन्त्री बनेकी भएकाले पदमुक्त भएकी छन्।
पार्टीको सिफारिसअनुसार उनी सांसद र मन्त्री दुबै पदबाट हटाइएकी हुन्।
बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भएकाले पदमुक्तको सूचना भोलि मात्रै टाँस गरिने सचिवालयले जनाएको छ।
हाउस कल भएको दिन पदमुक्त गर्न नमिल्ने नियमअनुसार उनी बिहीबार औपचारिक रूपमा बर्खास्त हुनेछिन्।
कञ्चन बिच्छा कात्तिक २४ मा सरोज कुमार यादव नेतृत्वको सरकारले गठन गरेको मन्त्रीपरिषदमा वनमन्त्री बनेकी थिइन्।
पार्टीले उनलाई फिर्ता हुन निर्देशन दिएको भए पनि उनले नमान्दा स्पष्टीकरण सोधिएको थियो।
जवाफ नफर्काएपछि पार्टीले उनलाई साधारण सदस्यबाट समेत हटाउने सिफारिस गर्दै सांसद पदबाट फिर्ता बोलाएको थियो।
यस निर्णयसँगै बिच्छा सांसद र मन्त्री दुवै पदबाट मुक्त भएकी छन्।