जनकपुर । विश्वासको मतका लागि बोलाइएको मधेश प्रदेश सभा बैठकअघि आज प्रदेश सभा परिसरमा सुरक्षा कडाइ गरिएको छ ।
तालिमप्राप्त कुकुरसहितको विशेष टोली परिचालन गरी भवनको कडा सुरक्षा जाँचमा उच्च सतर्कता अपनाइएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले आज सर्वोच्च अदालतको परमादेश अनुसार २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने भएपछि बैठक बोलाइएको हो ।
बिहान साढे ८ बजेबाट बस्ने भनिएको बैठक सवा १० बजेसम्म पनि सुरु भएको छैन ।
प्रदेश सभा भवन वरिपरि बिहानैदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी बाक्लो रुपमा खटिएका छन् ।
प्रदेश सभा सचिवालयका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक विक्रम शाहका अनुसार जेनजी आन्दोलनका क्रममा सुरक्षा उपकरण जलाइएपछि कडाइ अपनाउँदै हरेक बैठकअघि तालिमप्राप्त कुकुरमार्फत विस्तृत जाँच गर्ने गरिएको हो ।
यसअघि सांसद जितेन्द्र सोनलले विश्वासको मत लिने दिनमा पनि एकपटक यसरी नै कुकुरमार्फत सुरक्षा जाँच गरिएको थियो ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् ।