जनकपुर । सर्वोच्च अदालतको परमादेशपछि आज मधेसका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिँदैछन्।
विश्वासको मतको दिनमै प्रदेशमा नयाँ सत्ता समीकरण कसरी बन्छ भन्ने विषय सात दलीय गठबन्धनभित्र तीव्र कसरत चलिरहेको छ।
मुख्यमन्त्री यादव विश्वासको मतप्रति कमजोर देखिएपछि नयाँ सरकार गठनका लागि गठबन्धन दलहरूबीच भागबन्डा र नेतृत्वको विषयमा तिव्र रस्साकस्सी छ।
सत्ता साझेदारीमा सात दल एक भएर एमालेविरुद्ध उभिए पनि मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा भने गम्भीर मतभेद देखिएको छ।
लोसपाले आफ्ना नेता जितेन्द्र सोनललाई नै मुख्यमन्त्री बनाउनुपर्ने अडान कडा रूपमा अघि सारेको छ।
तर सोनलप्रति गठबन्धनका अन्य दलहरू सकारात्मक देखिन नसकिरहेको स्रोत बताउँछ।
यसैबीच नेपाली कांग्रेसले आफ्ना संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्री बनाउनु पर्ने दाबी राखेको छ।
कांग्रेसको यो प्रस्तावलाई जसपा नेपालको पनि साथ रहेको बुझिएको छ।
कांग्रेसका एक प्रदेशसभा सदस्यका अनुसार जसपा नेपाल सभामुख पद लिने शर्तमा कांग्रेसलाई मुख्यमन्त्रीको दाबीमा सहयोग गर्न तयार देखिएको छ।
लोसपाका संसदीय दलका नेता जयनुल राइन भने पहिले नै सात दलबीच जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने सहमति भएको दाबी गर्दै उही अडानमा अडिग छन्।
यद्यपि, सात दलका नेताहरूले सार्वजनिक रूपमा भने सहमतिमै मुख्यमन्त्रीको नाम टुंग्याइने दाबी गरेका छन्।
विश्वासको मतका लागि आजको प्रदेशसभा बैठक बस्नै लाग्दा सत्ता निर्माणको नयाँ गणित कता मोडिने हो भन्ने प्रश्नले मधेसको राजनीति थप चर्किएको छ।