बीरगन्ज । बीरगन्ज महागनरपालिकाका मेयर राजेशमान सिंहमाथि अलौँमा दुर्व्यवहार भएको छ ।
महानगरको अलौँ वडा नम्बर १७ मा सोमबार बिहान मेयर सिंहमाथि स्थानीयले दुर्व्यवहार गरेका हुन् ।
महानगरको वडा नम्बर २६ स्थित खेतमा जमेको पानीको विषयलाई लिएर विवाद हुँदा मेयर सिंहमाथि आक्रमण भएको स्थानीय बताउँछन् ।
अलौँ १७ का एक स्थानीयका अनुसार असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी खेतमा भरिएको थियो । उनले भने, ‘त्यही जमेको पानी शनिबार वडा नम्बर १७ का वडा सदस्य आमोद यादवले खोल्नुभएको थियो, तर आइतबार अर्को पक्ष गएर फेरी बन्द गरेको थियो । त्यही जमेको पानी मेयर सिंहले खोल्दा विवाद भएको हो, जुन क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।’
घटनाबारे प्रतिक्रिया लिन मेयर राजेशमान सिंह तथा उनको सचिवालयमा पटकपटक सम्पर्क गर्दा समेत कोही सम्पर्कमा आएनन् ।